Admissions Open for BBS
5/15/2024
व्यक्तिवृत्त
उत्तम सापकोटा
विगत दुई दशकभन्दा बढी समयदेखि काठमाडौँ उपत्यकाका विभिन्न विद्यालय तथा महाविद्यालयमा नेपाली भाषा, व्याकरण तथा साहित्यको अध्ययन–अध्यापन गर्दै–गराउँदै आउनुभएका उत्तम सापकोटा प्रतिबद्ध नेपाली भाषानुरागी तथा कुशल विषय अध्यापक हुनुहुन्छ । अद्यतन उहाँ ग्लोबल कलेज अफ म्यानेजमेन्टमा पूर्णकालीन नेपाली विषय अध्यापकका रूपमा कार्यरत हुनुहुन्छ ।
नेपाली साहित्य, भाषातत्त्व, सिर्जनात्मक तथा प्राज्ञिक लेखन आदि उहाँ संलग्न क्षेत्र हुन् । प्राज्ञिक अनुसन्धान, गद्याख्यान लेखन र पठन, भाषातत्त्वको अध्ययन र प्रकाशन आदि क्षेत्रमा उहाँको विशेष रुचि रहेको छ । उहाँले विभिन्न प्रकाशन गृहमा आबद्ध भई सम्पादन कार्य पनि गर्नुभएको छ । उहाँ नेपाल समाचारपत्र, राजधानी दैनिक, राष्ट्रपुकार, सुनकेस्रा आदि पत्रिकाका विभिन्न भूमिकामा रही समाचार, भाषा र विषय सम्पादन कार्यमा पनि संलग्न हुनुहुन्थ्यो । यसका अतिरिक्त उहाँ विश्वव्यापी कार्यक्षेत्र रहेको विश्वकै ठुलो मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल नेपाल शाखाको महासचिव (सन् २०१२–२०१३ अवधि), पुनरावेदन समितिको अध्यक्ष (सन् २०१०–२०११ अवधि), उपमहासचिव (सन् २००८–२००९ अवधि) रहिसक्नुभएको छ भने सोही संस्थाको राष्ट्रिय प्रशिक्षक पनि हुनुहुन्छ । उहाँ मानवअधिकारसम्बद्ध विषयगत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशाला (युरोप, अफ्रिका, एसियाका विभिन्न देश) मा समेत सहभागी भइसक्नुभएको छ ।
उहाँ विद्यालय, विश्वविद्यालय तह तथा साहित्यिक सिर्जनालगायतका दर्जनभन्दा बढी पुस्तकका सर्जक तथा सम्पादक पनि हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पसबाट नेपाली विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ भने नेपाल संस्कृत विश्वविद्यालयबाट शास्त्री उत्तीर्ण हुनुहुन्छ । अहिले उहाँ नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधिको शोधार्थीसमेत हुनुहुन्छ ।
काभ्रे जिल्ला, बनेपा नगरपालिका, वडा नं. ४, नाला स्थायी बसोबास भएका सापकोटा हाल मध्यपुर ठिमी, भक्तपुरमा बस्नुहुन्छ । उहाँलाई uttam.sapkota@globalcollege.edu.np/uttamsapkota@gmail.com/ र ९८५१११६०७६ मा सम्पर्क गर्न सकिने छ ।
5/15/2024